वीरेन्द्रनगर नगरपालिका र एमयूबीच सहकार्यका लागि समझदारी


सुर्खेत ः वीरेन्द्रनगर नगरपालिका र मध्यपश्चिम विश्वविद्यालयबीच आपसी सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । विभिन्न विषयमा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन र सहकार्य गर्ने सम्झौता भएको हो । वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाल र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रवकुमार गौतमले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । दुईनिकायबिच सार्वजनिक महत्वका विषयमा सहकार्य गरेर अघि बढ्ने उद्देश्यले सम्झौता गरिएको नगर प्रमुख मोहनमाया ढकालले बताइन् ।
उनका अनुसार सार्वजनिक सेवा सान्दर्भिक अनुसन्धान, प्रचार–प्रसार तथा प्रकाशन वैकल्पिक ऊर्जा र वातावरणीय सुधारका कार्यक्रमका लागि सहकार्य गर्ने सम्झौता भएको हो । विश्वविद्यालयसँग सामाजिक जनचेतना, तालिम, गोष्ठीलगायतका क्षमता विकासका कार्यक्रम र स्थानीय वस्तु तथा सेवा र उद्यमशीलता प्रवद्र्धन गर्ने लक्ष्य राखिएको उनको भनाई छ । ‘भौतिक पूर्वाधार विकास र स्रोत व्यवस्थापन, मानव स्रोत, सूचना, तथ्याङ्क, सामग्री, पुस्तकालय र बौद्धिक सम्पत्ति लगायतका स्रोतमा सहयोग, आदानप्रदान र सहकार्य गर्ने सम्झौता भएको छ । भने वर्गीकृत समुदायका लागि छात्रवृद्धि प्रदान गरिने भएको छ,’ उनले भनिन् ।
स्थानीय ज्ञान, सीप, प्रविधि र संस्कृतिको खोजी तथा प्रवद्र्धन र स्थानीय महत्वका बिषय तथा आपसी सहमतिमा गर्न सकिने अन्य कार्यहरू सम्झौता पत्रमा समावेश भएका छन् । स्थानीय स्तरमा गर्ने अध्ययन, विश्लेषण र अनुसन्धान गरी सेवा प्रवाहमा नगरपालिकाले सहकार्य गर्ने उल्लेख छ ।
कार्यगत क्षेत्रका सार्वजनिक सेवा प्रवाह, विकास निर्माण, सामाजिक कार्य र सुशासन सम्बन्धी व्यवस्थापनमा थप प्रभावकारी बनाउन नगरपालिकाले विश्वविद्यालयसँग सहकार्य गरेको हो । नगरवासीका आवश्यकता र चाहनाहरूको परिपूर्ती गर्न दीर्घकालीन र बलियो सहकार्यको लागि क्षेत्रहरूको पहिचान गर्दै काम अघि बढाइने नगरप्रमुख ढकालले बताइन् । यी दुई निकायबिच ४ वर्ष अवधिको सहमति भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार